काठमाडौं–मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गतको मध्यखण्डको ठेक्का लाग्ने निश्चित भएको छ। उक्त खण्डको सडक विस्तारका लागि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
आँबुखैरहनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा सो कम्पनीले पाउने भएको हो। ठेक्का सम्झौताका लागि सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) ले ठेक्का स्वीकृति गर्ने आसयको सूचना आइतबार प्रकाशित गरेको थियो।
त्यसैगरी, मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली–पोखरा खण्डको ठेक्का सम्झौता गर्न छनोट भएको कम्पनीको विवरण एडिबीमा पठाइए पनि अझै टुंगो लागिसकेको छैन। मुग्लिन–आँबुखैरहनी खण्डको भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको छ।

यो आयोजनाअन्तर्गत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बनाइने छ। एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब रुपैयाँ अर्ब ऋण सहयोग गरेको छ। करिब ८० किलोमिटरको यो सडकलाई तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ।
यो टेन्डरबाट छानिने कम्पनीले सडक सीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ। यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ।
यो खण्डका मुख्य बस्ती र सहरी क्षेत्रमा पनि सर्भिस लेन निर्माण गरिनेछ। विस्तार हुने सडकमा सुरक्षा विशेषतासहितको लाइट सिस्टम पनि जडान हुने जनाइएको छ। मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारको काम सन् २०२५ सम्म सक्ने लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।