काठमाडौं– अस्ट्रेलियासँगको तीन खेलको टि–२० क्रिकेट सिरिज भारतले जितेको छ। दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेसँगै एक खेलअघि नै सिरिज आफ्नो पक्षमा पारेको हो।
१९५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर सकिन दुई बल बाँकी छँदा चार विकेटको क्षतिमा भेटायो।
अन्तिम ओभरमा भारतलाई १४ रन चाहिएको थियो। हार्दिक पाण्ड्याले दुई रन, छक्का, डट र फेरी छक्का प्रहार गर्दै भारतलाई जिताए। हार्दिक २२ बलमा ४४ रन बनाएर अविजित रहँदा श्रेयस ऐयर १२ रनमा अविजित रहे।
यसअघि भारतका शिखर धवनले ३६ बलमा ५२, कप्तान विराट कोहलीले ४० र केएल राहुलले ३० रन बनाएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९४ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि कप्तान माथेव वाडले ३२ बलमा ५८ रन, स्टेभन स्मिथले ४६, मोइस हेन्रिक्सले २६ र ग्लेन म्याक्सवेलले २२ रन बनाए। त्यस्तै, मार्कस स्टोइनिसले सात बलमा अविजित १६ रन जोडे। बलिङतर्फ भारतका थंगारासु नटराजनले दुई विकेट लिँदा सार्दुल ठाकुर र युज्भेन्द्र चाहलले समान १–१ विकेट लिए।
यसअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा भने अस्ट्रेलियाले भारतलाई २–१ ले हराएको थियो।
अब अस्ट्रेलिया र भारतबीचको तेस्रो खेल मंगलबार हुनेछ। त्यसपछि भारत र अस्ट्रेलियाबीचको चार खेलको टेस्ट क्रिकेट सिरिज सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।