काठमाडौं– पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान सर्फराज अहमदलाई पाकिस्तानी टि–२० क्रिकेट टिममा बोलाइएको छ।
न्युजिल्यान्डविरुद्धको तीन खेलको टि–२० क्रिकेट सिरिजका लागि सर्फराजलाई टिममा बोलाइएको हो। सर्फराजसँगै हुसेन तलातलाई पनि पाकिस्तान क्रिकेट बोर्डले टिममा बोलाएको छ। जिम्बाबेविरुद्धको तीन खेलको टि–२० क्रिकेट सिरिजमा रहेका जाफर गोहार र रोहेल नाजिरलाई निकाल्दै सर्फराज र हुसेनलाई टिममा बोलाएको हो। जिम्बाबेविरुद्धको तीन खेलको टि–२० क्रिकेट सिरिज घरेलु टिम पाकिस्तानले क्लिन स्विप गरेको थियो।
जिम्बाबेविरुद्धको सिरिजमा युवा खेलाडीलाई अवसर दिनुपर्छ भन्दै सर्फराजलाई टिमबाट बाहिर राखिएकाे थियो। अलराउण्डर हुसेन तलातले पछिल्लो पटक सन् २०१९ को फेब्रुअरीमा दक्षिण अफ्रिकाविरुद्ध टि–२० क्रिकेट खेल खेलेका थिए।
न्युजिल्यान्डसँग पाकिस्तानले पहिलो टि–२० खेल १८ डिसेम्बरमा खेल्नेछ। त्यसपछि २० र २२ डिसेम्बरमा दोस्रो र तेस्रो टि–२० क्रिकेट खेल खेल्नेछ। त्यसपछि पाकिस्तानले दुई खेलको टेस्ट क्रिकेट सिरिज न्युजिल्यान्डसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।