काठमाडौं– अफगानी स्पिनर मुजिब उर रहमानलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ। बिग बासको फ्रेन्चाइज ब्रिसबन हिटका स्पिनर मुजिबलाई कोरोना भाइरस संक्रमण देखिएको हो।
काबुलबाट अस्ट्रेलिया बिग बास खेल्न प्रस्थान गरेका मुजिबलाई अस्ट्रेलियाको क्विन्सल्यान्डमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो। १९ वर्षीय मुजिबलाई अहिले होटलमा क्वारेन्टाइनमा राखिएको छ।
ब्रिसबन हिटले विज्ञप्ति जारी गर्दै मुजिब विश्वको टि–२० क्रिकेटमा नम्बर दुई बलर भएको भन्दै गएको सातामात्रै ब्रिसबन आइपुगेको बताएका छन्। ब्रिसबन हिटले भनेको छ, ‘मुजिब टि–२० क्रिकेटमा दोस्रो स्थानमा रहेका बलर हुन्। उनी गएको साता ब्रिसबन आइपुगेका थिए। तर उनीमा कोरोना भाइरसको लक्षण देखिएको छ। अहिले उनी क्वारेन्टाइनमा छन्।’
मुजिबलाई कोरोना संक्रमणदेखिसँगै उनी करिब एक साताभन्दा बढी क्वारेन्टाइनमा रहनेछन्। डिसेम्बर १० तारिखदेखि सुरु हुने बिग बास क्रिकेटमा मुजिबले ब्रिसबन हिटका सुरुवाती दुई खेल गुमाउने भएका छन्। उनले डिसेम्बर ११ तारिखमा हुने मेलबर्न स्टार्स र १४ तारिखमा सिड्नी थन्डरविरुद्धवको खेल गुमाउने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।