काठमाडौं– गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिममा आयोजना हुने भएको छ। बागमती प्रदेश क्रिकेट संघले शनिबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।
भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरीरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा मंसिर २७ देखि ३० गतेसम्म प्रतियोगिता चल्नेछ। प्रतियोगितामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीले सहभागिता जनाउने छन्। प्रतियोगितामा तीन टिमको सहभागिता रहने छन्। गौतम बुद्ध कपमा चार खेल हुनेछन्।
प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्न लागेको हो। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन्।
गत चैतदेखि कोरोना भाइरसको कारण घरेलु क्रिकेट गतिविधि ठप्प हुँदै आएको छ। यो प्रतियोगितासँगै घरेलु क्रिकेट विस्तारै पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।