मस्को- रुसमा कोरोना विरुद्ध आफ्नै देशमा विकास भएको भ्याक्सिन लगाउन सुरु गरिने भएको छ। राजधानी मस्कोका क्लिनिकमा यो भ्याक्सिन लगाउन सुरु गर्ने योजना रुसले बनाएको हो।
मस्कोका मेयर सेरगेई सोबियानिनल यही साताको सुरुतिर अबका केही दिनमा नै कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरिने घोषणा गरेका थिए। सहरका करिब १ करोड ३० लाखभन्दा बढीलाई यो भ्याक्सिन लगाइने उनको घोषणा थियो। रुसमा विद्यालयका कर्मचारी, स्वास्थ्यकर्मी र समाजिक सेवाका क्षेत्रमा काम गर्नेलाई पहिलो चरणमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइने योजना छ। पहिलो चरणमा सबैभन्दा बढी जोखिममा भएका पेसा र उमेर समूहका मानिसमा भ्याक्सिन लगाइने रुसको योजना छ।
रुसले गत अगस्ट महिनामा स्पुतनिक-भी नामक भ्याक्सिन बनाएको सार्वजनिक गरेको थियो। यो भ्याक्सिनको प्रभावकारिता दर ९५ प्रतिशतभन्दा बढी भएको निर्माताहरूको दाबी छ। यसका साथै यसले कुनै पनि साइड इफेक्ट पनि नगर्ने बताइएको छ। तर यसको व्यापक परीक्षण भने सकिएको छैन।
यो भ्याक्सिनको दुई डोज लिनुपर्ने बताइएको छ। पहिलो पटक लगाएको भ्याक्सिन लगाएको २१ औं दिनमा दोस्रो डोज लिनुपर्ने छ।
रुसमा हजारौँ मानिसले कोरोना विरुद्धको भ्याक्सिन लगाउनका लागि इच्छा देखाएका छन्। तर उत्पादकले माग धान्न सक्ने/नसक्ने अझ पनि खुलिसकेको छैन।
विश्वका स्वतन्त्र निकायले अझसम्म पनि मानिसमा प्रयोग गर्नका लागि रुसले विकास गरेको उक्त भ्याक्सिनलाई अनुमति दिइसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।