काठमाडौं- अस्ट्रेलियाविरुद्धको तीन खेलको टी-२० क्रिकेट सिरिजको पहिलो खेल भारतले जितेको छ। घरेलु टिमविरुद्ध भारतले ११ रनले जितेको हो।
१६१ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५० रन बनायो।
भारतविरुद्ध अस्ट्रेलियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। राम्रो सुरुवात गरेपनि कप्तान आरोन फिन्च ३५ रनमा आउट भएपछि अस्ट्रेलियाको विकेट पतन सुरु भयो। त्यस्तै, अस्ट्रेलियाका डि’आर्सी शर्टले ३४ र मोइस हेन्रिक्सले ३० रन बनाए।
बलिङतर्फ भारतका थङ्गारासु नटराजनले आफ्नो डेब्यु खेलमा नै राम्रो ब्याटिङ गरे। उनले चार ओभरमा ३० रन खर्चिएर तीन विकेट लिए। त्यस्तै, युज्भेन्द्र चाहालले पनि चार ओभरमा २५ रन खर्चिएर तीन विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६१ रन बनाएको थियो। भारतका लागि ओपनर केएल राहुलले अर्धशतकीय पारी खेल्दै टिमलाई उकास्ने प्रयास गरे। पहिलो विकेटको रुपमा शिखर धवन एक रनमा आउट हुँदा भारतको मात्र ११ रन थियो। राहुलले ४० बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ५१ रन बनाउँदा रविन्द्र जडेजाले विष्फोटक ब्याटिङ गर्दै भारतलाई सम्मानजनक स्कोरमा पुर्याए।
उनले २३ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ४४ रन बनाए। त्यस्तै, भारतका लागि सन्जु सामसनले २३ र हार्दिक पाण्ड्याले १६ रन जोडे। बलिङतर्फ अस्ट्रेलियाका मोइस हेन्रिक्सले तीन तथा मिचेल स्टार्कले दुई विकेट लिए।
जितसँगै भारतले तीन खेलको टि–२० क्रिकेट सिरिजमा १–० को अग्रता बनाएको छ। अब भारत र अस्ट्रेलियाबीचको दोस्रो खेल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।