काठमाडौं- हङकङले नेपाल एयरलाइन्सको उडानमा चौथो पटक प्रतिबन्ध लगाएको छ। हङकङले ३ देखि १५ डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको हो। नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो।
पछिल्लो पटक नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको ६ जना यात्रुमा कोरोना देखिएको थियो। ६ जना यात्रुमा कोरोना देखिएसँगै हङकङले फेरि १५ दिनका लागि नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको हो।
यसअघि ३ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि नेपाल एयरलाइन्सले हङकङ जाने उडानमा नेपालका सरकारी ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेका थियो।
हङकङले पहिलो पटक अक्टोबर ४ देखि नोभेम्बर १७ सम्म, दोस्रोपटक अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रो पटक नोभेम्बर १२ देखि २५ सम्म उडान प्रतिबन्ध लगाएको थियो।
३ पटकसम्म निजी ल्याबबाट पिसिआर परीक्षण गरेर हङकङ पुगेका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सले हङकङ उडानमा पछिल्लो पटक सरकारी ल्याबलाई मात्रै मान्यता दिएको थियो।
अन्तिम पटक सरकारी ल्याबको रिर्पोट लिएर हङकङ उडेका ६ जनामा कोरोना देखिएपछि हङकङले नेपाल एयरलाइन्सलाई पुनः प्रतिबन्ध लगाएको हो। तेस्रो पटकको उडान प्रतिबन्ध फुकुवापछि नेपाल एयरलाइन्सले ३० नोभेम्बरमा हङकङ उडान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।