काठमाडौं– पाकिस्तानका बलिङ अलराउण्डर इमाद वासिमले चर्चित फ्रेन्चाइज लिग बिग बास टि–२० क्रिकेट प्रतियोगिता मेलबर्न रेनेगेड्सबाट खेल्ने भएका छन्।
बिहीबार मेलबर्न रेनेगेड्सले बलिङ अलराउण्डरको रुपमा पाकिस्तानी खेलाडी वासिमलाई अनुबन्धित गरेको हो। तर इमाद वासिम बिग बास खेल्न डिसेम्बर २६ तारिखमा मात्रै टिममा उपलब्ध हुने छन्। आगामी डिसेम्बर १८ तारिखबाट पाकिस्तानले न्युजिल्यान्डसँग तीन खेलको टि–२० क्रिकेट सिरिज खेल्नेछ।
टि-२० क्रिकेट सिरिजको अन्तिम खेल २२ तारिखमा खेलेर न्युजिल्यान्डबाटै इमाद वासिम अस्ट्रेलिया प्रस्थान गर्नेछन्। अस्ट्रेलियामा पुगेपछि उनी क्वारेन्टाइनमा बस्नुपर्ने छैन। अस्ट्रेलिया र न्युजिल्यान्डबीचको ‘कोभिड–१९ यात्रा सम्झौता’अनुसार एक देशबाट अर्को देशमा जादा क्वारेन्टाइनमा बस्नुपर्ने छैन। तर न्युजिल्यान्ड भ्रमणमा केही दिनपछि निस्किने पाकिस्तानी टिम त्यहाँ पुगेपछि भने क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।
३१ वर्षीय इमाद वासिम टि–२० क्रिकेटकै उत्कृष्ट खेलाडी भएको मेलबर्न रेनेगेड्सका मुख्य प्रशिक्षक माइकल क्लिङ्गरले बताएका छन्।
उनले भने, ‘इमाद एक उत्कृष्ट टि–२० क्रिकेट खेलाडी हुन्। उनको आगमनसँगै बलिङ र ब्याटिङको फिनिसिङमा राम्रो हुनेछ।’
बिग बास १० डिसेम्बरबाट सुरु हुँदैछ। फेब्रुअरी ६ तारिखसम्म चल्ने बिग बासमा मेलबर्न रेनेगेड्सले आफ्नो पहिलो खेलमा डिसेम्बर १२ तारिखमा पर्थ स्करचर्ससँग खेल्नेछ। इमाद वासिम तीन खेलपछि मात्रै टिमसँग उपलब्ध हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।