काठमाडौं- अर्थ मन्त्रालयले कोरोना बीमाको रकम तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र एवं संस्थान समन्वय महाशाखाले समितिलाई पत्र लेख्दै बिमा दाबी भुक्तानी छिटो गर्ने व्यवस्था मिलाउन भनेको हो।
कोरोना बीमा भुक्तानीको दाबी गर्न पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन र मन्त्रालयलाई नियमित जानकारी गराउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
त्यस्तै भेरिफिकेसन गर्न बाँकी दाबीको यथाशीघ्र यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउनसमेत अर्थमन्त्रालयले बीमा कम्पनीहरूलाई दिएको निर्देशनमा उल्लेख गरिएको छ।
साथै कोरोना दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरूबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्या‚ बीमा कम्पनीमा पेन्डिङमा रहेका दाबीका विवरण र समस्या समाधानका लागि समितिबाट भएको प्रयास र मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरूका बारेमा विस्तृत जानकारी गराउन पनि मन्त्रालयले बीमा कम्पनीलाई निर्देशन दिएको छ।
कोरोना बीमाको हालसम्मको दाबी संख्या‚ प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या‚ प्रमाणीकरण नभएका वा नक्कली दाबीको विवरण‚ दाबी भुक्तानीको विवरण र सबै कागजात पुरा भई भुक्तानी गर्न बाँकीको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।