काठमाडौं– अस्ट्रेलियन ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले आफ्नो गल्तीको कारण एलेक्स क्यारी आउट हुन पुगेको बताएका छन्। बुधबार भारतसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया १३ रनले पराजित भएको थियो।
दुई खेलमा लगातार जित हात पार्दै एक खेलअघि नै सिरिज आफ्नो पक्षमा पारेको अस्ट्रेलिया अन्तिम खेलमा पनि जित नजिक थियो। ३७ ओभरको समाप्तिसम्म अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो।
क्रिजमा थिए एलेक्स क्यारी र ग्लेन म्याक्सवेल। अस्ट्रेलियालाई जितको लागि १३ ओभरमा ९८ रन आवश्यक थियो भने अझै पाँच विकेट बाँकी नै थियो। तर ३८ ओभरको चौथो बलमा एलेक्स रन आउट भए। रविन्द्र जडेजाको बलमा एलेक्सले ब्याटिङ गरे। नन नस्ट्राइकमा म्याक्सवेल थिए। एक रनको लागि एलेक्स क्यारी निकै अगाडि बडे तर म्याक्सवेलले रन नलिने भनेपछि एलेक्स क्यारी फर्किए। यही बेला कप्तान विराट कोहलीले फिल्डिङ गरेर दिएको बलबाट विकेटकिपर केएल राहुलले रनआउट गराए।
अस्ट्रेलिया हार्नुको मुख्य एक कारण यो पनि हो। खेलसकिएपछि पत्रकारसँग कुरा गर्दै म्याक्सवेलले आफ्नो शत प्रतिशत गल्ती भएको स्वीकारेका छन्।
उनले भनेका छन्, ‘खेल भारतको पक्षमा जानु यो पनि मुख्य कारण बन्यो। उनी रनआउट हुनुमा मेरो सय प्रतिशत गल्ति हो।’
एलेक्स क्यारी ३८ रनमा आउट भए। उनी आउटभएसँगै अस्ट्रेलिया निकै दबाबमा आयो। यसको बोझ म्याक्सवेललाई थपियो। म्याक्सवेल पनि ३८ बलमा ५९ रन बनाउँदा जसप्रित बुमराहको बलमा बोल्ट आउट भएपछि भारतले खेल जित्न पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।