काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको घटनाको भर्त्सना गर्दै कांग्रेसको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएका छन्। तनहुँमा आज वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिइनु सत्ताको चरम दुरुपयोग भएको पनि उनले बताएका छन्।
तत्काल पौडेललाई रिहाई गर्न र कांग्रेस नेता, कार्यकर्तामाथिको धरपकड तत्काल बन्द गर्न पनि महामन्त्री कोइरालाले चेतावनी दिएका छन्। 
'कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भर्त्सनायोग्य छ। लोकतान्त्रिक मूल्यमान्यतामै प्रश्न उठ्ने गरी भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुन्छ। कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम बिथोल्ने गरी निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग हो,' उनले भनेका छन्।
'कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ। लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्नेछ,' उनले लेखेका छन्, 'कांग्रेसका नेता, कार्यककर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दै कसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ। कांग्रेसको धैर्यतालाई कसैले कमजोरी नठानोस्।'
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।