काठमाडौं- झुटा तथा नक्कली मल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न फर्म विरुद्ध ४१ करोड ३ लाख विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१२ स्थित राउत ट्रेड कन्सर्नका प्रोप्राईटर कमलबहादुर राउत समेत २ जनाबाट ४ करोड १६ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
यस्तै नक्कली बिजक प्रयोग गरी राजस्व छली गर्ने दोलाखा जिल्ला तामाकोशी गाउँपालिका स्थित पिआरके ट्रेड इन्टरनेसनलका सञ्चालक लहुमन (लछुमन) माझीबाट ५ करोड ५६ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
झुटा तथा नक्कली बिल प्रयोग गरी राजस्व छलेकै आरोपमा बारा परवानीपुरस्थित मिनजा इन्टरनेसनलका सञ्चालक रामबाबु सहनीविरुद्ध २ करोड १९ लाख रूपैयाँ बिगो कायम गर्दै विभागले मुद्दा दायर गरेको छ।
यस्तै मुद्दामा पर्सा वेलवा-३ स्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नबिकरिम अन्सारीसमेतबाट ८ करोड २४ लाख रूपैयाँ बिगो कायम गर्दै विभागले मुद्दा दायर गरेको छ।
यसैगरी नक्कली बिजक प्रयोग गर्ने धनुषा रघुनाथपुर-४ स्थित रमण कन्स्ट्रक्सन २० करोड ८७ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ। यो कम्पनीले खरिद नगरी झुटा तथा नक्कली बिक्री बिजक मात्र लिएको र त्यसैबाट राजस्व छली गरेको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।