काठमाडौं– घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टि–२० क्रिकेट सिरिज इंग्ल्यान्डले क्लिन स्विप गरेको छ।
मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै सिरिज ३–० ले जितेको हो। १९२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १७.४ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो। इंग्ल्यान्डको जितमा डेविड मलानले विष्फोटक ब्याटिङ गरे। उनले ४७ बलमा ११ चौका र पाँच छक्का प्रहार गर्दै ९९ रनमा अविजित रहे। त्यस्तै, जस बटलरले अविजित ६७ रन बनाए।
न्युल्यान्ड्सको क्याप टाउनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १९१ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रासी भान डेर डुसेनले उत्कृष्ट प्रदर्शन गरे। उनले ३२ बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै ७४ रनमा अविजित रहे। फाफ डु प्लेसिसले अविजित ५२ रन जोडे। बलिङतर्फ इंग्ल्यान्डका बेन स्टोक्सले दुई विकेट लिए।
यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि दक्षिण अफ्रिका चार विकेटले पराजित भएसँगै एक खेलअघि नै इंग्ल्यान्डले टि–२० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको थियो।
अब दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग तीन खेलकै एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।