काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बैठकको औचित्य नभएको बताएका छन्। सचिवालयको मंगलबारको बैठकमा बोल्दै उनले बैठक आवश्यक नभएको बताएका हुन्।
'विवाद भइरहेको अवस्था छ। यस्तो अवस्थामा बैठक राखेर काम छैन। बैठकको औचित्य पनि छैन', ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, 'त्यसैले अब बैठक नराखौं।'
ओलीले बैठकको सुरुमै आफ्नो धारणा राखेका थिए।
ती सचिवालय सदस्यका अनुसार विष्णु पौडेल बाहेक सबैले बैठक राख्नुपर्ने कुरामा जोड दिएका थिए। 'विष्णु कमरेड भने मौन बस्नुभयो', उनले भने।
बैठकमा पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि मंसिर १३ को बैठकमा ओलीले लगाएको आरोपको खण्डन गरेका थिए। उनले बुँदागत रुपमा आफूमाथि सबैजसो आरोपको खण्डन गरेका थिए।
प्रचण्डले बैठकबारे ओलीको धारणाको पनि खण्डन गर्दै बैठकको औचित्यबारे बोलेका थिए।
नेकपाको सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजेलाई तोकिएको छ। आजको बैठक धुम्बाराहीमा बस्ने भनिए पनि अन्तिममा बालुवाटारमै सारिएको थियो।
कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मंसिर १३ गते अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनका अनुसार, बैठकले दुई प्रस्तावहरुमाथि औपचारिक छलफलका साथसाथै अनौपचारिक छलफल पनि अगाडि बढाउने निर्णय गरिएको छ। 'औपचारिक छलफलका साथसाथै अनौपचारिक छलफलको क्रम अघि बढाउन उपयुक्त हुने ठानिएको छ। त्यसैले नेताहरुको बीचमा अनौपचारिक छलफल अगाडि बढाइने छ', श्रेष्ठले बताए।
आजको बैठकमा मुख्यगरी ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए। साथसाथै अन्य सदस्यले पनि सामान्य छलफल गरेको प्रवक्ता श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।