काठमाडौं- श्रीलंकाका पूर्व खेलाडी असन्का गुरुसिन्हा नाइजेरिया राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अनुसार नाइजेरिया क्रिकेट महासंघ (एनसिएफ)ले गुरुसिन्हालाई मुख्य प्रशिक्षक र हाइ–पर्फमेन्स डाइरेक्टरमा नियुक्त गरेको हो।
५४ वर्षीय गुरुसिन्हा ‘ए’ लेभल थ्रीे प्रशिक्षक हुन्। श्रीलंका पुरुष क्रिकेट टिमका म्यानेजर र छनोटकर्ता समेत भएर काम गरेका गुरुसिन्हाले नाइजेरिया क्रिकेटलाई थप उचाईमा पुर्याउने विश्वास नाइजेरिया क्रिकेट महासंघले लिएको छ।
नाइजेरिया क्रिकेट महासंघका अध्यक्ष याहाया आडम उकवेन्याले उनको आगमनले नाइजेरिया क्रिकेटमा राम्रो प्रभाव पर्ने बताएका छन्। उनले भनेका छन्, ‘गुरुसिन्हाको आगमनले हाम्रो क्रिकेट संरचना विकासमा राम्रो प्रभाव पर्नेछ। हाम्रो लागि ठूलो अवसर हो। नाइजेरियाले विश्व क्रिकेट जगतमा लामो यात्रा पार गर्नु छ।’
गुरुसिन्हाले सन् १९८५ देखि १९९६ सम्म श्रीलंकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेले। ११ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरमा उनले श्रीलंकाका लागि टप अर्डरबाट नियमित खेलेका थिए। सन् १९९६ को विश्वकप श्रीलंकाले जित्दा उनी टिमका मुख्य खेलाडी थिए। उनले त्यो विश्वकपमा ६ इनिङ्सबाट ३०७ रन बनाएका थिए।
गुरुसिन्हाले ४१ टेस्ट क्रिकेटमा सात शतक र आठ अर्धशतकसहित दुई हजार ४५२ रन बनाएका छन् भने १४७ एकदिवसीय क्रिकेटमा दुई शतक, २२ अर्धशतकसहित तीन हजार ९०२ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।