काठमाडौं- पाकिस्तान क्रिकेटमा टेस्ट टिमका कप्तान गएको तीन वर्षमा चार पटक फेरिए। अब भने कप्तानका रुपमा बाबर आजमको नाम लामो समयसम्म रहने पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत वासिम खानले बताएका छन्।
प्रमुख कार्यकारी अधिकृत खानले पाकिस्तान क्रिकेट बोर्डका प्रमुख एशान मनी र आफू रहुञ्जेल कप्तानका रुपमा बाबर आजम नै रहने बताएका हुन्। ‘बाबर हामीहरुको उत्कृष्ट ब्याट्सम्यान भएकाले उनलाई कप्तानका रुपमा अघि बढाइएको हो। उनी युवा उमेरका छन् र मानसिक रुपमा निकै सचेत छन्। टेस्टमा मात्र होइन एकदिवसीय र टी ट्वान्टीमा पनि उनको बुझाई राम्रो छ’ खानले युट्युब च्यानल ‘क्रिकेट बाज’ लाई दिएको अन्तर्वार्तामा भनेका छन्।
सर्फराज अहमदपछि अजर अलि हुँदै कप्तान बनेका बाबर आजम ब्याट्सम्यानको टेस्ट वरियतामा पाँचौँ नम्बरमा रहेका छन्। एकदिवसीय ब्याटिङ वरियतामा तेस्रो नम्बरमा रहेका आजम टी ट्वान्टी ब्याटिङ वरियतामा दोस्रोमा नम्बरमा छन्।
पाकिस्तानका लागि २९ टेस्टको ५३ इनिङमा आजमले २ हजार ४५ रन बनाएका छन्। ७७ एकदिवसीयमा ३ हजार ५ सय ८० र ४४ टी ट्वान्टी अन्तर्राष्ट्रियमा १ हजार ६ सय ८१ रन बनाएका छन्।
पाकिस्तान टिम अहिले तीन खेलको टी ट्वान्टी र दुई खेलको टेस्ट सिरिजका लागि न्युजिल्यान्डमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।