काठमाडौं- वाणिज्य बैंकका सेयरधनीले नाफा बुक गर्न हतार गर्दा सोमबार वाणिज्य बैंकको सूचक ७.३८ अंकले घटेको छ। वाणिज्य बैंकका सेयरधनीले नाफा बुक गरे पनि अन्य समूहका कम्पनीमा आएको उछालका कारण नेप्से सूचक भने २८.७९ अंकले सुधारिएको छ।
१० अर्ब रुपैयाँ सेयर पुँजी भएका ठूला कम्पनी माथिल्लो तामाकोशी र नेपाल पुनर्बीमा कम्पनीको उछालका कारण नेप्से सूचकमा सुधार आएको हो। धेरै सेयर पुँजी भएका कम्पनीमा सुधार आउने बित्तिकै वाणिज्य बैंकको सूचक तल झर्दा पनि सेयर बजार भने सुधार हुने गरेको छ।
सोमबार जलविद्युतको सूचक ५.९३ प्रतिशतले बढेको छ। त्यस्तै व्यापारको सूचक पनि ६.६१ प्रतिशतले सुधार भएको छ। नेप्से सूचक १.४६ प्रतिशतले सुधार भएर १९९७.०५ अंकमा रोकिएको छ।
जम्मा १९८ वटा कम्पनीको ८ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। ११० वटा कम्पनीको सेयर मूल्यमा सुधार हुँदा ५६ वटाको मूल्य भने बढेको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ करोड ४८ लाख रुपैयाँको कारोबार भइरहेको छ।
बजार सुधार हुन थालेसँगै लगानीकर्ताले घरमै बसेर अनलाइन कारोबार गरिरहेका छन्। हरेक दिन भैरहेको सुधारले लगानीकर्ताको मनोबल उच्च हुँदा कारोबार रकम बढिरहेको छ।
पछिल्ला दिनमा होटल पसलदेखि लिएर सामाजिक सञ्जालमै सेयर बजारबाट भएको आम्दानीको चर्चा हुन थालिसकेको छ। एक वर्ष अगाडि बजार तल झरेर डिप्रेस भइरहेका लगानीकर्ताहरु पछिल्ला दिनमा नसोचेको आम्दानी गरिरहेका छन्। ४/५ लाख रुपैयाँको पोर्टफोलियो हुनेको अहिलेको अवस्थामा १०/१२ लाख रुपैयाँ भन्दा माथि नाघिसकेको छ। भैरहेको सेयरको पोर्टफोलियो बढिरहेकाले लगानीकर्ताले सेयर कर्जा लिएरै उठाइरहेका छन्।
अन्य क्षेत्रमा कर्जाको माग नहुँदा नियमले भ्याएसम्म सेयर लोन र यसको सिमा नाघ्ने बित्तिकै ओभर ड्राफ्ट मार्फत दोस्रो बजारमा बैंकिङ कर्जा पार्किङ भैरहेको छ। यस्तो समयमा प्रवाह भएको सेयर कर्जामा थोरै मात्र जोखिम हुने भएकाले बैंकले मागे जति कर्जा दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।