काठमाडौं–अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले भारतविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेल र टि–२० क्रिकेट सिरिज गुमाउने भएका छन्। भारतविरुद्धका एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका थिए।
उनको स्थानमा अन्तिम एकदिवसीय खेल र टि–२० क्रिकेट सिरिजका लागि डी’आर्सी शर्टलाई टिममा बोलाइएको छ। एक खेलअघि नै एकदिवसीय क्रिकेट सिरिज अस्ट्रेलियालाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका वार्नर घाइते हुँदै बाहिरिएपछि टिमलाई ठूलो झड्का लागेको छ।
पहिलो खेलमा भारतलाई ६६ रनले पराजित गर्दा वार्नरले ६९ रनको योगदान दिएका थिए। दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दा उनले ७७ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ८३ रन बनाएका थिए।
वार्नर भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजका लागि भने टिममा फर्किने छन्। एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेल बुधबार हुनेछ। त्यसपछि अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय टिमले डिसेम्बर ४ देखि ८ तारिखसम्म तीन खेलको टि–२० क्रिकेट सिरिज अस्ट्रेलियासँग खेल्नेछ। चार खेलको टेस्ट क्रिकेट सिरिज भने डिसेम्बर १७ तारिखदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।