काठमाडौं-घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टि–२० क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ। तीन खेलको टि–२० सिरिज इंग्ल्यान्डले एक खेलअघि नै जितेको हो।
दोस्रो खेलमा दक्षिण अफ्रिकालाई इंग्ल्यान्डले चार विकेटले पराजित गरेसँगै सिरिज आफ्नो पोल्टामा पारेको हो। यसअघि पहिलो खेलमा भने इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई पाँच विकेटले हराएको थियो। दोस्रो खेलमा १४७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभर सकिन एक बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो।
इंग्ल्यान्डको जितमा डेविड मलानले ५५ रन बनाए। त्यस्तै, कप्तान इयोन मोर्गनले अविजित २६, जस बटलरले २२, बेन स्टोक्सले १६ र जासन रोयले १४ रन बनाए। बलिङतर्फ दक्षिण अफ्रिकाका तबराज साम्सीले तीन विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४६ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले ३०, जर्ज लिन्डले २९ र रासी भान डेर डुसेनले अविजित २५ रन बनाए। बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिदले दुई विकेट लिए। तेस्रो खेल इंग्ल्यान्डले दक्षिण अफ्रिकासँग मंगलबार राति खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।