काठमाडौं- तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले हराएको छ। अस्ट्रेलियाले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको भारतले पूरा ५० ओभर खेल्दै आठ विकेट जाँदा ३ सय ८ रन मात्र बनाउन सकेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पूरा ओभर खेल्दै ६ विकेट जाँदा ३ सय ७४ रन बनाएको थियो। जसमा आरोन फिन्च र स्टेभेन स्मिथले शतक बनाएका थिए। १ सय २४ बल खेलेका फिन्चले १ सय १४ रन साथै ६६ बल खेलेका स्मिथले १ सय ५ रन बनाएका थिए। डेभिड वार्नरले ७६ बलमा ६९ रन र ग्लेन म्याक्सवेलले १९ बलमा ४५ रन बनाएका थिए।
भारतका लागि शिखर धवनले ८६ बलमा ७४ रन, हार्दिक पान्ड्याले ७६ बलमा ९० रन बनाए। मयंक अग्रवालले १८ बलमा २२ रन, विराट कोहलीले २१ बलमा २१ रन, रविन्द्र जडेजाले ३७ बलमा २५ बनाए।
अस्ट्रेलियाका आदम जाम्पाले चार, जस हजेलउडले तीन साथै मिचेल स्टाकले एक विकेट लिए।
भारतको अस्ट्रेलिया भ्रमणमा अब दुई एकदिवसीय, तीन टी ट्वान्टी र चार टेस्ट खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।