नयाँ दिल्ली- गुजरातको राजकोट शहरमा बिहीबार राति कोभिड अस्पतालको आइसियुमा आगलागी हुँदा पाँच बिरामीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दमकल विभागका एक अधिकारीका अनुसार अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये २८ जना बिरामीलाई सुरक्षित उद्धार गरिएको थियो। दमकल विभागका अधिकारी जेबी थेवाले मावडी इलाकमा उदय शिवानन्द अस्पतालको आइसियुमा अबेर राती आगलागी भएको बताए।
उक्त अस्पतालमा ३३ जना बिरामी भर्ना भएका थिए भने सात जना आइसियूमा उपचाररत थिए। आगलागीको सूचना तत्काल दमकल विभागले प्राप्त गरेका कारण ठूलो क्षति भने हुन नपाएको उनले उल्लेख गरे। ३० जना बिरामीलाई सुरक्षित स्थानमा सारिएको र आइसियुमा रहेकामध्ये तीन जनाको सोही स्थानमा र अन्य दुई जनाको केही बेरपछि मृत्यु भएको थियो।
आगलागी हुनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। संक्रमितहरुलाई अन्य अस्पतालमा भर्ना गरिएको छ। राजकोट सिटीका प्रहरी कमिस्नर मनोज अग्रवालले आधा घन्टामा आगो नियन्त्रणमा लिएको जानकारी दिए। रिर्पोटअनुसार उदय शिवानन्द कोभिड अस्पतालका सञ्चालक गोकुल लाइफ केयर प्रालिद्वारा चलाइएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुजरातका मुख्यमन्त्री विजय रुपाणीले उक्त आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। अगस्ट महिनामा अहमदावादको एक निजी कोभिड अस्पतालको आइसियु वार्डमा आगलागी भएको थियो। उक्त घटनामा परी आठ कोरोना संक्रमितले ज्यान गुमाएका थिए। अहमदावादको नवरंगपुुर इलाकाको श्रेय अस्पतालको आइसियुमा आगलागी भएको थियो। उक्त समय अस्पतालमा ४०–४५ जना संक्रमित रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।