काठमाडौं- नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गतका दुई पप्पमा सिल गरेको छ। निगमको केन्द्रीय कार्यालयबाट रुपन्देही तथा कपिलवस्तु जिल्लाका पेट्रोल पम्पहरुको अनुगमन गर्ने क्रममा कपिलवस्तु जिल्ला ती पम्पहरुले इजाजतबिनै पेट्रोलको बिक्री वितरण गरेको भेटिएपछि सिल गरिएको हो।
निगमका अनुसार आनन्दबाग तौलिहवामा अवस्थित चिन्नी लाल कान्दु पेट्रोल पम्पले निगमबाट डिजेलमात्रै बिक्री वितरण गर्ने अनुमति पाएकोमा उक्त पम्पले पेट्रोल पनि बिक्री वितरण गर्ने गरेको देखिएको थियो।
साथै कपिलवस्तु जिल्ला डंगरी अवस्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पमा स्थलगत निरीक्षण गर्दा चिन्नी लाल कान्दु आनन्दबाग कपिलबस्तुलाई ४ हजार ५०९ लिटर पेट्रोल उपलब्ध गराएको अनुगमनका क्रममा देखिएको थियो।
यसरी इजाजतबिनै पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको देखिएपछि निगमको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली २०७५ को दफा २९ बमोजिम ती दुवै पेट्रोल पम्पलाई निगमको केन्द्रीय अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रतिनिधिको रोहवरमा बिहीबार सिलबन्दी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।