काठमाडौं- आठ महिनासम्म रोकिएको नेपाली क्रिकेट मैदान फर्किएको छ। खेलाडीहरुले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारदेखि अभ्यास थालेसँगै कोरोना महामारीका कारण थलिएको क्रिकेट सहज अवस्थामा फर्कने प्रयासमा लागेको हो।
कोरोना भाइरस विश्वभर फैलिएसँगै सरकारले गएको वर्ष चैत पहिलो साताबाट खेलकुद गतिविधि ठप्प गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै नेपाली क्रिकेट पनि ठप्प भएको थियो। अहिले क्यानले आइसिसी विश्वकप क्रिकेट लिग-२ को सिरिजलाई मध्यनजर गर्दै बन्द प्रशिक्षण सुरु गरेको हो।
.jpg)
क्यानले बन्द प्रशिक्षणका लागि २७ जना खेलाडीलाई बोलाएको हो। तर कोरोना संक्रमणका कारण चार खेलाडी अभ्यासमा उपस्थित छैनन्। अभ्यासमा सामेल हुनका लागि गरिएको कोरोना भाइरस परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको हो। बसन्त रेग्मी यसअघिदेखि नै संक्रमित थिए। संक्रमित खेलाडीहरु अहिले सेल्फ आइसोलेसनमा छन्।

क्यानले प्रशिक्षण सामेल हुने खेलाडीको पहिलोको सूचिमा पाँच खेलाडी थप गरेको छ। रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई बन्द प्रशिक्षणको लागि क्यानले टिममा बोलाएको हो।
क्यानले गएको मंसिर ५ गते सूचना जारी गर्दै क्लोज क्याम्प गर्ने मिति र क्याम्पमा रहने खेलाडीको नाम सार्वजनिक गरेको थियो। तर चार खेलाडी अझै बन्द प्रशिक्षणका लागि आउन बाँकी नै छ। सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर र करण केसी बन्द परीक्षणमा रहनका लागि आइनसकेकाले उनीहरुको कोरोना परीक्षण हुन बाँकी नै छ।
.jpg)
टिम अहिले जगत टमाटाको प्रशिक्षणमा रहेको छ। २०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी टमाटाले लिँदै आएका छन्। त्यसअघि पनि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदा मुख्य प्रशिक्षकमा टमाटा नै थिए। क्यान एक महिनाभित्र मुख्य प्रशिक्षक नियुक्त गर्ने गरी तयारीमा जुटिरहेको छ। त्यसका लागि क्यानले केही दिनअघि मात्रै मुख्य प्रशिक्षकका उम्मेद्वारहरुसँग अन्तर्वार्ता लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।