काठमाडौं- विश्वव्यापी कोरोना महामारीको अवधिमा पनि विप्रेषण आप्रवाह थप बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बृद्धि भई २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७६ प्रतिशतले वृद्धि भई २ अर्ब १८ करो रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई २ खर्ब ८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।