काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले तीन कम्पनीलाई १ करोड ३ लाख रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ। जर्मनी सरकारबाट केएफडब्लू बैंकमार्फत् प्राप्त अनुदान सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत सो अनुदान हस्तान्तरण गरिएको हो।
बैंकले प्रिमियर अर्गानिक्स प्रालिलाई ५३ लाख ५१ हजार ५ सय ८४ रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ३३ लाख १५ हजार ६ सय रुपैयाँ र प्रिमियर स्टिल प्रालिलाई १७ लाख ८ हजार ४ सय ६५ रुपैयाँ बराबर अनुदान रकम हस्तान्तरण गरेको हो।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी ती कम्पनीले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहमा हस्तान्तरण गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।
नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यान्वयनको लागि भूमिका खेल्दै आएको छ।
आयोजनाअन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्मलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान दिनसक्ने व्यवस्था छ। यस आयोजनाअन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।