काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताएका छन्। आइतबार एक ट्वीट गर्दै थापाले यस्तो जनाएका हुन्।
‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा विरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस्‚’ थापाले ट्वीटरमा लेखेका छन्‚ ‘जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौं।’
नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क बनाइए आफ्नोतर्फबाट पूर्ण सहयोग रहने तर रत्नपार्कको नाम परिवर्तन गर्ने‚ इतिहाँस मेटाउने कार्य संकीर्ण र विकास विरोधी रहेको बताउँदै अध्यक्ष थापाले भने‚ ‘नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाइयोस्। हाम्रो पुरा सहयोग रहनेछ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकीर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्वन्द्व निम्त्याउने काम नहोस्। इनफ इज इनफ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।