काठमाडौं– लंका प्रिमियर लिगका फ्रेन्चाइज टिम क्यान्डी टस्कर्सका खेलाडी सोहेल तानविरलाई कोरोना संक्रमण भएको छ।
पाकिस्तानी खेलाडी सोहेल तानविरलाई कोरोना संक्रमण भएको टस्कर्सले जानकारी दिएको छ। त्यस्तै, लंका प्रिमियर लिग खेल्ने अर्का खेलाडी रविन्दरपाल सिंहलाई पनि कोरोना पोजेटिभ भएको छ। क्यानेडियन ब्याट्सम्यान रविन्दर पाललाई कोलोम्बो किंग्सले अनुबन्धित गरेको थियो।
लंका प्रिमियर लिग खेल्न श्रीलंका पुगेका दुवै खेलाडीलाई कोरोना संक्रमण भएको हो। कोरोना परीक्षण गर्दा पोजेटिभ भेटिएपछि दुवै खेलाडीलाई छुट्टै होटलमा आइसोलेसनमा राखिएको छ।
सोहेललाई कोरोना संक्रमण भएसँगै टस्कर्सलाई प्रतियोगितामा ठूलो धक्का लागेको छ। टस्कर्सका मुख्य प्रशिक्षक हसन तिलकरत्नेले फ्रेन्चाइज टिम मालिकलाई सोहेलको विकल्पमा अन्य खेलाडी खोज्न आग्रह गरिसकेको बताएका छन्। तर उनले सोहेल अहिले नै टिमबाट नबाहिरिएको पनि प्रष्ट पारे।
यसअघि क्यान्डी टस्कर्सका दुई विदेशी खेलाडीले लंका प्रिमियर लिगबाट आफ्नो नाम फिर्ता लिएका थिए। पाकिस्तानी खेलाडी वाहब रियाज र इंग्ल्यान्डका लियाम प्लुंकेटले आफ्नो नाम फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।