काठमाडौं–भक्तपुर नगरपालिका–१ स्थित सडकमा निकिशा श्रेष्ठलाई दुव्र्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–१ बस्ने १९ वर्षीय सफिल खत्री, सोही नगरपालिका–५ तौमडी बस्ने १६ र १७ वर्षीय २ किशोर रहेका छन्।
श्रेष्ठलाई उनीहरुले लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी गरी भिडियोसमेत बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो।
त्यसपछि अनुसन्धानमा खटिएको महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
खत्रीले स्कुटर चलाएको र स्कुटरमा सवार १६ वर्षीय किशोरले भिडियो खिचेपश्चात १७ वर्षीय किशोरले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।