काठमाडौं– चर्चित खेलाडी क्रिस गेल र लासिथ मालिंगाले लंका प्रिमियर लिग (एलपिएल) नखेल्ने भएका छन्।
वेष्ट इन्डिजका ‘युनिभर्सल बोस’ क्रिस गेल चोटको कारण देखाउँदै लंका प्रिमियर लिग नखेल्ने भएका हुन्। यता, मालिंगा भने लामो समयदेखि अभ्यास नभएको कारण लंक प्रिमियर लिग नखेल्ने बताएका हुन्। क्रिस गेल क्यान्डी टस्कर्समा अनुबन्धित भएका थिए भने, मालिंगा गल्ली ग्लाडियटर्सका मार्की खेलाडी थिए।
नोभेम्बर २६ देखि सुरु हुने लंका प्रिमियर लिग डिसेम्बर १६ तारिखसम्म चल्नेछ। गेलले घरेलु फ्रेन्चाइज लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलेका थिएनन् भने गत नोभम्बर १० तारिखमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) भने खेलेको थिए। तर चोटकै कारण किंग्स इलाभेन पञ्जाबमा रहेका गेलले सुरुवाती आइपिएल भने खेलेका थिएनन्।
यता, लासिथ मालिंगा भने गएको मार्चदेखि क्रिकेट खेलेका छैनन्। आइपिएलबाट पनि उनले अन्तिम समयमा आएर आफ्नो नाम फिर्ता लिएका थिए।
लामो अभ्यासविना उच्च लेभलको प्रतियोगिता खेल्न बलरलाई सजिलो नहुने भन्दै मालिंगाले लंका प्रिमियर लिगबाट आफ्नो नाम फिर्ता लिएका हुन्। मालिंगाले भनेका छन्, ‘उच्च स्तरीय प्रतियोगिता खेल्न अभ्यासविना बलरको लागि सजिलो हुँदैन। लंका प्रिमियर लिगमा खेलहरु एकपछि अर्को लगातार छ। त्यसकारण यो प्रतियोगिता नखेल्ने मैले निर्णय गरेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।