स्याङ्जा- कोरोना संक्रमण दर लगातार रूपमा बढ्न थालेपछि वालिङ नगरपालिकामा जनस्वास्थ्य विपद् अवस्थाको घोषणा गरिएको छ। असोज अघिभन्दा कार्तिकमा कोरोना संक्रमण दर बढेपछि एक साताको लागि जनस्वास्थ्य विपद् समयको घोषणा गरिएको नगरपालिकाले जनाएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले लकडाउन र निषेधाज्ञा जारी गर्ने स्थानीय तहको क्षेत्राधिकार नभएकाले जनस्वास्थ्य विपद् अवस्थाको घोषणा गरिएको जानकारी दिए।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘२०७६ चैत ११ देखि ०७७ असोज मसान्तसम्मको संक्रमणभन्दा कार्तिक महिनाको संक्रमण दर बढिरहेको अवस्थामा जोखिम न्यूनीकरणको लागि कदम चाल्नका लागि सिफारिस भई आएको, नगर स्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटीको सिफारिसको आधारमा नगरबासीको स्वास्थ्यप्रति उच्च सतर्कता अपनाउँदै जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४८ को उपदफा ४ एवं नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकारमा रही २०७७ मंसिर ५ गते राती १२ बजेदेखि मंसिर १२ गते राति १२ बजेसम्म लागू हुनेगरी जनस्वास्थ्य विपद् अवस्था घोषणा गरिएको छ।’
उक्त अवधीमा बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, पसल तथा बजार, सवारी साधनरहरू (अत्यावश्यक बाहेक) सञ्चालन गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै सभा समारोह, भेला, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूमा स्वास्थ्य मापदण्ड अपनाई २५ जनाभन्दा बढी भेला नहुनसमेत आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।