काठमाडौं- इंग्ल्याण्ड पुरुष क्रिकेट टिमले १६ वर्षपछि पाकिस्तानमा खेल्ने भएको छ। २०२१ को अक्टोबर १४ र १५ मा पाकिस्तान कराँचीमा हुने टी ट्वान्टीका लागि इंग्ल्यान्डको भ्रमण पक्का भएको हो।
इंग्ल्यान्ड क्रिकेट बोर्ड र पाकिस्तान क्रिकेट बोर्डको सहमति अनुसार पाकिस्तान भ्रमण भारतमा हुने टी ट्वान्टी विश्वकपको तयारीका रुपमा लिइएको छ। इंग्ल्यान्ड टिम अक्टोवर १२ मा पाकिस्तान पुग्नेछ। जहाँबाट दुई खेलपछि विश्वकपका लागि अक्टोवर १६ मा भारत जाने तय छ।
इंग्ल्यान्डले पछिल्लो पटक २००५ मा तीन टेस्ट र पाँच एकदिवसीय खेल्न पाकिस्तान भ्रमण गरेको थियो। त्यसपछि २०१२ र १०१५ मा भएको सिरिजमा पाकिस्तानसँग इंग्ल्यान्डले युएईमा खेलेको थियो।
‘इंग्ल्यान्ड टिम पाकिस्तान खेल्न जाने कुराले हामी धेरै खुशी छौँ, यो हाम्रो २००५ पछिको पाकिस्तान भ्रमण हो। जुन दुवै देशको क्रिकेटका लागि महत्वपूर्ण क्षण हुनेछ’ इंग्ल्यान्ड क्रिकेट बोर्डका प्रमुख कार्यकारी टम ह्यारिसनले भनेका छन्।
पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले पनि इंग्ल्यान्डको पाकिस्तान भ्रमणले २०२२–२३ का लागि एकिदवसीय र टेस्ट खेलका लागि पनि बाटो खुल्ने विश्वास लिएको भन्दै खुशी व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।