काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता एक वर्ष थप गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार आइसिसीले नेपालको एकदिवसीय मान्यता थप एक वर्ष लम्ब्याएको हो।
नेपालले सन् २०१८ मार्च १५ तारिखमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो। चार वर्षको लागि पाएको मान्यता गत मार्चदेखि कोरोना भाइरसको कारण क्रिकेट गतिविधि ठप्प भएपछि आइसिसीले एक वर्ष मान्यता थप गरेको हो।
नेपालको एकदिवसीय मान्यता २०२२ मा सकिँदै थियो तर एक वर्ष थप गरेपछि अब २०२३ सम्म रहनेछ। सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटमा नेपालले प्लअफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले र नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो पटक मान्यता पाएको थियो।
अहिले आइसिसीको प्रतियोगिता आइसिसी विश्वकप लिग–२ नेपालले खेल्दै आएको छ। २०१९ देखि सुरु भएको लिग–२ मा नेपालले घरेलु मैदानमा एउटा त्रिकोणात्मक सिरिज खेलेको छ। नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलबाट चार अंक बनाएको छ। लिग–२ को अंक तालिकामा १० खेलबाट १६ अंक बनाउँदै ओमान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा अमेरिका, तेस्रो स्थानमा स्कटल्यान्ड, चौथोमा नामिविया, पाँचौमा युएई र छैटौं स्थानमा नेपाल छ भने सातौं स्थानमा पपुवा न्युगिनी रहेको छ।
लिग–२ का पाँच वटा सिरिज कोरोना भाइरसको कारण सरिसकेको छ। जसमा नेपालको सिरिज तीन वटा सरिसकेको छ। लामो समयसम्म क्रिकेट गतिविधि आइसिसीले नै बन्द गरेपछि नेपालको लागि एकदिवसीय मान्यता एक वर्ष थप गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।