काठमाडौं– कराची किंग्सले पाकिस्तान सुपर लिग क्रिकेटको उपाधि जितेको छ। लाहोर कलान्डर्सलाई पराजित गर्दै कराचीले पाकिस्तान सुपर लिगको उपाधि जितेको हो।
लाहोरलाई कराचीले पाँच विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो। कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित बनेको पाकिस्तान सुपर लिगको प्लेअफ र फाइनलको खेल नोभेम्बर १४ पछि सुरु भएको हो। मार्च १५ तारिखमा लिग चरणको खेल सकिएपछि कोरोना भाइरसका कारण पाकिस्तान सुपर लिग अनिश्चितकालको लागि स्थगित भएको थियो।
फाइनलमा १३५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको कराचीले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो। कराचीको जितमा बाबर अजामले अविजित ६३ रन बनाए। त्यस्तै, चाडविक वाल्टनले २२, शार्जिल खानले १३ र कप्तान इमाद वासिमले अविजित १० रन बनाए। बलिङतर्फ लाहोरका हरिस राउफ र दिल्बार हुसेनले समान २–२ विकेट लिए।
यसअघि राष्ट्रिय रंगशाला कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३४ रन बनाएको थियो। लाहोरका लागि तमिम इकबालले ३५ र फखर जमानले २७ रन जोडे। बलिङतर्फ कराचीका वाकस मासोद, आर्सद इकबाल र उमाद आसिफले समान २–२ विकेट लिए।
फाइनल खेलमा प्लेयर अफ द म्याच भएका बाबर अजाम प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।