बिबिसी- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबारे रिपोर्टिङ गर्ने पत्रकारले ५ वर्षको जेल जीवन बिताउनुपर्ने भएको छ। कोरोना भाइरसको महामारीबारे समाचार लेखेकी ३७ वर्षीया झाङ झानलाई झगडा बढाएको र समस्यालाई झन् थपेको आरोपमा ५ वर्ष जेल पठाउने निर्णय चीनले गरेको हालै सार्वजनिक दस्तावेजले देखाएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ।
उनलाई गत मे महिनामा चिनियाँ प्रहरीले पक्राउ गरेको थियो। उनी पूर्व कानुन व्यवसायीसमेत हुन्। चिनियाँ अधिकारीहरूले कोरोना महामारीका विषयमा लेख्ने/बोल्नेहरूमाथि दमन गर्दै आएका छन्।
कोरोना भाइरसको संक्रमण फैलिएपछिको अवस्थालाई चित्रण गरी समाचार लेखेकै कारण जेल पर्ने झाङ पहिली पत्रकार भने होइनन्। यसरी समाचार लेख्नेमध्ये कम्तीमा पनि तीन जना फेब्रुअरीमा नै हराएका थिए। यीमध्ये एक जना ली जेहुवाले भने गत अप्रिलमा नै आफू क्वारेन्टाइनमा रहेको बताएका थिए।
यस्तै चेन क्युउसीमाथि पनि सरकारले निगरानी गरिरहेकै छ। फाङ बिन नाम गरेका अर्का एक जना पत्रकारको स्थिति भने अझसम्म सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।