जेनेभा- विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठनका प्रमुख डा टड्रोस अधानोम घेब्रेयससले बताएका छन्। सोमबार आयोजित एक कार्यक्रममा प्रमुख डा घेब्रेयससले यस्तो बताएका हुन्।
'खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो। यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन। खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन,' प्रमुख घेब्रेयससले भने।
टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए। यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने उनको जोड छ।
'खोप मात्रले कोभिड–१९ सङ्क्रमण दरलाई अझै प्रभावकारीरूपमा नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ। अनुगमन र परीक्षण अझै बढाउँदै बिरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी एक अर्को उपाय हुन सक्ने बताइएको छ।
विश्व स्वास्थ्य संगठनको शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा ६ लाख ४५ हजार ४१० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यस पहिलेको सङ्क्रमितको उच्चतम सङ्ख्या नोभेम्बर ७ मा ६ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड शुक्रबार तोडिएको हो।
महामारीले कैयौँ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको र अहिलेसम्म ५ करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।