न्युयोर्क- अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १० लाख कटेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांक अनुसार नेपाली समय आइतबार दिउँसो ३ बजेसम्ममा अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १० लाख ३७ हजार ७७७ छ।
अमेरिकामा हालसम्म २ लाख ४६ हजार २१७ जना कोरोना संक्रमितको मृत्यु भएको समेत सो विश्वविद्यालयले जनाएको छ। यस्तै ४१ लाख ८५ हजार ४६३ जना भने कोरोना संक्रमणमुक्त भएका छन्।
कोरोना संक्रमितको संख्या बढेसँगै वासिंटन र मिचिगन राज्यले भने स्वास्थ्य सुरक्षाका उपाय कडाइका साथ लागू गर्ने तयारी गरेका छन्।
बुधबारबाट लागू हुने गरी मिचिगनमा विद्यालय तथा कलेजमा पठनपाठन बन्द गरिएको छ भने रेस्टुरेन्टमा बसेर खान निषेध गरिएको छ। यस्तै वासिंटनमा जिम, सिनेमा, नाटकघर र संग्रहालय बन्द गरिएको छ। अमेरिकामा पछिल्लो समय दिनहुँ झन्डै एक हजार कोरोना संक्रमिको ज्यान जान थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।