बिबिसी- कोरोनाभाइरस विरुद्धको भ्याक्सिन फाइजर विकास गरिरहेको कम्पनी बायो एन टेकले सन् २०२१ को जाडोयामसम्ममा जनजीवन सामान्य अवस्थामा फर्कन सक्ने बताएको छ। बिबिसीसँग कुराकानी गर्दै बायो एन टेकका सहसंस्थापक प्राध्यापक उगुर साहिनले यसवर्षको जाडोयाममा भ्याक्सिनको ठूलो प्रभाव नपर्ने तर अर्को वर्ष जाडोयामसम्ममा जनजीविका सामान्य अवस्थामा फर्काउन सकिने बताएका हुन्।
बायो एन टेकले बनाएको फाइजर भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको दाबी गत सातामा मात्र सार्वजनिक भएको थियो। करिब ४३ हजार मानिसमा परीक्षण गरी आफूहरूले सो दाबी गरेको कम्पनीले बताएको थियो।
बिबिसीले लिएको अन्तर्वार्ताका क्रममा प्रा साहिनले भ्याक्सिन लगाएको व्यक्तिमा कुनै लक्षण पनि देखा नपर्ने र अर्को स्वस्थ व्यक्तिमा पनि नसर्ने बताए। यसले कोरोनाको संक्रमण दर आधा जति कम गर्न सहयोग गर्ने समेत उनको भनाइ छ।
'सबै कुरा हामीले सोचेजस्तै राम्रै हुँदै गयो भने हामीले यो वर्षको अन्त वा आगामी वर्षको सुरुवातसम्ममा हामीले भ्याक्सिन उत्पादन गर्न थाल्छौं,' प्रा साहिनले भने, 'अर्को वर्ष अप्रिलसम्ममा हामीले ३० करोड डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएका छौं। यसपछि संक्रमण दर कम गर्न सुरु हुन्छ।'
आगामी वर्षको गर्मीयाममा धेरैलाई भ्याक्सिन पुर्याउन सकिए अर्को वर्षको जाडोयाममा जनजीवन सामान्य बन्न सक्ने अपेक्षा लिएको उनको भनाइ छ।
तर विश्व स्वास्थ्य संगठनले फाइजरको प्रभावकारितका विषयमा कुनै पनि प्रतिक्रिया सार्वजनिक गरेको छैन। उसले भ्याक्सिनहरूको तेस्रो चरणको परीक्षण चलेको मात्र बताउँदै आएको छ। यस्तै रुसले बनाइरहको स्पुतनिक-५ भ्याक्सिन पनि ९२ प्रतिशत प्रभावकारी रहेको सार्वजनिक गरिँदै आएको छ।
भ्याक्सिनहरूको बन्ने प्रक्रिया जारी रहेपनि कहिलेसम्ममा भ्याक्सिनले स्वीकृति पाउँछन् भन्ने अझसम्म पनि टुंगो छैन। निर्माता कम्पनीहरूले आफैँ दाबी गर्दै आइरहेका मात्र हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।