काठमाडौं– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसपटक ‘राइजिङ प्लेयर अफ दि इयर’ विधालाई थप गरेको छ। प्रत्येक वर्ष ‘एनएनआइपिएल स्पोर्टस अवार्ड’ गर्दै आएको खेलाडी संघले यस पटकदेखि ‘राइजिङ प्लेयर अफ दि इयर’ विधा थप गरेको जानकारी दिएको हो।
शनिबार यो विधा थप गरिएको जानकारी दिँदै स्काई ब्रान्ड नेपालसँग प्रायोजकको सम्झौता पनि खेलाडी संघले गरेको छ। ‘राइजिङ प्लेयर अफ दि इयर’को प्रायोजक स्काई ब्रान्ड नेपाल रहेको खेलाडी संघले जानकारी दिएको छ।
एक महिला र एक पुरुष ‘राइजिङ प्लेयर अवार्ड’बाट सम्मानित हुने छन्। यो विधाको पुरस्कार राशि दुवैतर्फ समान ५०-५० हजार रहेको छ। राइजिङ प्लेयर अवार्डका लागि स्काई ब्रान्ड नेपालले खेलाडी संघलाई वार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने छ। स्काई ब्रान्ड नेपाल र खेलाडी संघबीच ५ वर्षको सम्झौता भएको हो।
एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार जनता बैंकले प्रायोजन गर्दै आएको छ। त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गर्दै आएको छ। ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सोही अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट सम्मान गरिने पनि खेलाडी संघले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।