काठमाडौं- ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन पत्नी ओनसरी घर्तीलाई लिएर नेपाल विद्युत प्राधिकरणको भारप्रेषण केन्द्र पुगेका छन्। शनिबार लक्ष्मीपूजाका दिन नेपालमा सबैभन्दा बढी विद्युत माग हुने भएकाले त्यसको व्यवस्थापनका विषयमा निर्देशन गर्न र त्यहाँको प्रणाली अवलोकनका लागि भारप्रेषण केन्द्र स्युचाटार पुगेको पुनको सचिवालयले जानकारी दिएको छ।
लक्ष्मीपूजाका दिन साँझको समयमा नेपालमा सबैभन्दा बढी विद्युत आपूर्ति गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनका लागि प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पनि भारप्रेषण केन्द्रमा खटिँदै आएका थिए। त्यसकै सिको गर्दै मन्त्री पुन पत्नीलाई लिएर भारप्रेषण केन्द्र पुगेका हुन्।
भारप्रेषण केन्द्रबाट कति बत्ति उत्पादन भएको, कति वितरण भएको र कहाँ आपूर्तिमा समस्या छ भन्ने लागायतका प्रणालीमार्फत् हेर्न सकिन्छ। विद्युत वितरणको सम्पूर्ण नियन्त्रण प्रणाली त्यहीँबाट सञ्चालन हुन्छ।
घिसिङका पालामा नेपाल लोडसेडिङ अन्त्य भएको तर सरकारले उनलाई पुनः कार्यकारी निर्देशक नबनाएपछि सरकारको आलोचना भइरहेको छ। सरकारले हालै मात्र प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बनाएको छ। तर उनी प्राधिकरणमा गएसँगै दिनहुँ पटकपटक विद्युत आपूर्तिमा अवरोध भएपछि मन्त्री पुनले निकै चासो दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।