काठमाडौं- चिनियाँ समाचार संस्था ग्लोबल टाइम्समा नेपाली कांग्रेसलाई भारतीय पार्टी भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आपत्ति जनाएको छ। बैठकका निर्णयहरु सुनाउँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताए।
कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डताप्रति समर्पित भएको र चीन मात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने बताए।
यो विषयमा दुई देशका संयुक्त टोलीले एतिहासिक तथ्यहरु, भोगचलनको तथ्यहरु, सीमा स्तम्भको स्थिति सबैको मूल्याङ्कन गरेर निष्कर्षमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको बताए।
बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एकता प्रक्रियामार्फत आएका सुनीलबहादुर थापा लगायतसँग भएको समझदारी अनुसार सहमहामन्त्री एवं केन्द्रीय सदस्य लगायतका पदहरु दिने निर्णय पनि गरेको छ। यससँगै सुनिबलबहादुर थापा कांग्रेसको सहमहामन्त्री बनेका छन् भने थप ६ जना केन्द्रीय समिति सदस्य र ३ जना आमन्त्रित सदस्यमा समायोजन भएका छन्।
यस्तै कोभिड संक्रमणका कारण देश आक्रान्त भएको अवस्थामा पनि सरकार बेखबर देखिएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै जनताको उपचारको हकलाई नजरअन्दाज नगर्न बैठकले माग गरेको छ। कृतिम अभाव, महँगी, कोभिड संक्रमणबाट जनता आक्रान्त भएको अवस्थामा जिम्मेवार बन्न सरकारसँग माग गरिएको पनि सहमहामन्त्री महतले बताए।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएका समस्याहरुमा सैद्धान्तिक सहमति भएको बताए। पार्टीलाई विधिसम्बत, विधानको पद्धतिका आधारमा क्रियाशल सदस्य वितरण गर्ने सहमति भएको पनि उल्लेख गरे।
तिहार लगत्तै कार्यसमिति बैठक बसेर सबै मुद्दाहरुमा छिनोफानो गर्ने कुरामा सहमति भएको पनि वरिष्ठ नेता पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।