काठमाडौं- निजी वायुसेवा सञ्चालकहरुले तिहार र छठ पर्वपछि पुनः लकडाउने गर्ने गरी उपत्यकाका मेयरहरूले सिडियोलाई दिएको सुझावमा आपत्ति जनाएका छन्।
केही दिन अगाडि मात्रै मेयरहरुले छठपछि पुनः लकडाउन गर्न कोभिड-१९ संकट व्यवस्थापक केन्द्र सुझाव दिएका थिए। ६ महिनाभन्दा लामो लकडाउन र निषेधाज्ञाका कारण अर्थतन्त्र धराशायी भएको अवस्थामा थप बन्दाबन्दीलाई मुलुकले थेग्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले लकडाउनप्रति पूर्णअसहमति जनाएको हो।
‘पुनः लकडाउन गर्नु भनेको जिम्मेवारीबाट पन्छिनु हो,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई शिथिल बनाउने काम अब गर्न हुँदैन।’
लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि पर्यटन, यातायात तथा हवाईसेवालगायत अन्य व्यवसाय पुनः ठप्प बनाउने काम न्यायोचित नभएको आयोनका प्रवक्ता योगराज कँडेलले बताए। उता सरकारले भने १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सूरु गर्ने निर्णय गरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।