काठमाडौं- भन्सार विभागलाई थाहै नदिई सहरी विकास मन्त्रालयले नेपालगञ्ज भन्सार परिसरमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण अघि बढाएको छ। बिहीबार सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्यमन्त्री पियुस गोयलले अनलाइनमार्फत संयुक्तरूपमा आइसिपीको शिलन्यास गरेका हुन्।
भारतीय राजदूतावासले दुई देशका मन्त्रीले आइसिपीको शिलन्यास गरेको जनाएको छ। दूतावासले सामाजिक सञ्जाल ट्विटरमा तस्बिरसहितको सूचना पोस्ट गरेको छ। सहरी विकास मन्त्रालयबाट मन्त्री श्रेष्ठले नेपालको तर्फबाट शिलान्यास गरेका थिए। त्यहाँ नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि पुगेका थिए।
नेपालगञ्जमा आइसिपी निर्माण हुने भए पनि भन्सार विभाग भने यसबारे बेखबर छ। विभागले अहिलेसम्म नेपालगञ्जमा आइसिपी निर्माणको विषयमा औपचारिक जानरकी नभएको जनाएको छ। 'आइसिपी बन्ने भन्ने सुनेका हौँ, कस्तो बन्ने, कसले बनाउने केही थाहा छैन,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।
भन्सारको काम सहज बनाउन भन्दै यसअघि विराटनगर र वीरगञ्जमा आइसिपी सञ्चालनमा ल्याइएको छ। तर भन्सार विभागको समन्वय विना नै अघि बढाइएका ती पूर्वाधारमा पर्याप्त स्थान नै छैनन्।
आइसिपी निर्माण भएपछि अन्तरदेशीय व्यापारमा सहजीकरण हुनुका साथै कार्गो व्यवस्थापनमा सहज हुनुपर्ने हो। तर स्थान अभावका कारण दुवै स्थानमा प्रभावकारीरूपमा सञ्चालन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।