काठमाडौं– राजस्थान रोयल्सका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग आइपिएलमा 'प्लेयर अफ द सिरिज' घोषित भएका छन्।
मंगलबार राति दिल्लीलाई पराजित गर्दै मुम्बईले पाँचौं पटक आइपिएलको उपाधि जित्दा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भने जोफ्रा आर्चर चुनिएका हुन्। उनी मोस्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट बने। जोफ्राले बलिङमा मात्रै हैन ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका थिए।
राजस्थानको पहिलो खेलमा चेन्नाईविरुद्ध १६ रनको जित निकाल्दा जोफ्रा आर्चरले उत्कृष्ट ब्याटिङ गरे। उनले ८ बलमा चार छक्कासहित २७ रन बनाएका थिए। बलिङतर्फ पनि एक विकेट लिएका थिए। दोस्रो खेलमा पनि उनले किंग्स इलाभेन पञ्जाबविरुद्ध ३ बलमा दुई छक्कासहित १३ रन बनाएका थिए। मुम्बई इन्डियन्सविरुद्ध पनि उनले ११ बलमा २४ रन बनाए। हैदरवाबाविरुद्ध पनि उनले मात्र ७ बलमा १६ रन बनाए। उनले १० खेलमा ब्याटिङ गर्ने अवसर पाएका थिए। जसमा उनले ११३ रन बनाए। जति ब्याटिङ गर्न पाए, उत्कृष्ट गरे।
बलरको भूमिकामा रहेका उनले उत्कृष्ट ब्याटिङ गर्दा सबैबाट तारिफ बटुले। बलिङ पक्ष पनि उनको राम्रो रह्यो। राजस्थान लिग चरणबाटै बाहिरिएपनि उनले १४ खेलबाट २० विकेट लिए।
त्यस्तै, इमर्जिङ प्लेयर अफ द इयरको अवार्ड भने रोयल च्यालेन्जर्स बैंग्लोरका ब्याट्सम्यान देवदुत्त पाडिकल बने। उनले आइपिएलमा १५ खेलबाट पाँच अर्धशतकसहित ४७३ रन बनाए। २० वर्षीय देवदुत्त यो सिजनको आइपिएलमा बैंग्लोरका सर्वाधिक रन बनाउने ब्याट्सम्यानसमेत हुन्। त्यस्तै, फेयर प्लेको अवार्ड विजेता टिम मुम्बई इन्डियन्स नै बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।