काठमाडौं– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि पाँचौं पटक जितेको छ। मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि उचालेको हो।मुम्बईलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने दिल्लीको सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्ली यो सिजनको आइपिएलमा मात्रै मुम्बई इन्डियन्ससँग लगातार चार पटक हार ब्यहोरेको हो।
१५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो। मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ बलमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रन बनाए। बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिए।
यसअघि दिल्लीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५६ रन बनाएपछि मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको थियो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीविरुद्ध मुम्बई सुरुवातमै हावी भएको थियो। दिल्लीका अग्रपंक्तिका तीन ब्याट्सम्यान सस्तैमा समेटिदा दिल्ली सुरुवातमै दबाबमा आएको थियो। पहिलो बलमै मार्कस स्टोइनिस शुन्यमा आउट भए। त्यसपछि २.४ ओभरमा १६ रन हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्या राहाने दुई रनमा पेविलियन फर्किए। ३.३ ओभरमा २२ रन हुँदा अर्का ओपनर शिखर धवन पनि १५ रनमा आउट भएसँगै दिल्ली धरापमा थियो।
चौथो र पाँचौं नम्बरमा आएका कप्तान श्रेयस ऐयर र रिषभ पन्तले दिल्लीलाई चौथो विकेटको लागि ९६ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। कप्तान श्रेयसले अविजित ६५ रन बनाए। उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, रिषभ पन्तले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५६ रन बनाएर आउट भए। त्यस्तै, अक्षर पटेल ९ र सिमरन हिटम्यर पाँच रनमा आउट भए। मुम्बईका लागि बलिङतर्फ ट्रेन्ट बोल्टले चार ओभरमा ३० रन खर्चिएर तीन विकेट लिए। नाथन काउल्टर नाइलको नाममा दुई विकेट रह्यो।
दिल्लीले मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने ठूलो अवसर गुमाएको छ। यसअघि लगातार तीन खेलमा हार ब्यहोरेको बदला लिनेगरी दिल्ली मैदानमा उत्रिएको थियो। तर दिल्ली फाइनलमा पनि हार्न पुग्यो। यसअघि दिल्लीले मुम्बईविरुद्धको पहिलो खेलमा ५ विकेटको हार ब्यहोरको थियो भने दोस्रो खेलमा ९ विकेटले हारेको थियो। प्लेअफको पहिलो क्वालिफायर खेलमा मुम्बईले दिल्लीलाई ५७ रनले पराजित गरेको थियो।
मुम्बईको यो पाँचौं आइपिएल उपाधि हो। यसअघि मुम्बईले २०१३, २०१५, २०१७, र २०१९ मा आइपिएलको उपाधि उचालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।