काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध ब्याटिङ थालेको दिल्ली क्यापिटल्सले खराब सुरुवात गरेको छ। टस जितेर ब्याटिङ गरेको दिल्लीले २२ रन बनाउँदा तीन विकेट गुमाएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीविरुद्ध मुम्बई हावी देखिएको छ। दिल्लीका अग्रपंक्तिका तीन ब्याट्सम्यान सस्तैमा समेटिदा दिल्ली सुरुवातमै दबाबमा आएको छ। पहिलो बलमै मार्कस स्टोइनिस शुन्यमा आउट भए। त्यसपछि २.४ ओभरमा १६ रन हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्या राहाने दुई रनमा पेविलियन फर्किए। ३.३ ओभरमा २२ रन हुँदा अर्का ओपनर शिखर धवन पनि १५ रनमा आउट भएसँगै दिल्ली धरापमा परेको हो।
यसअघिका खेलहरुमा शिखर धवन र मार्कस स्टोइनिसले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।
मुम्बईलाई पराजित गर्दै दिल्ली ऐतिहासिक उपाधि उचाल्ने लक्ष्यमा छ। तर सुरुवातमै दबाबमा आएको दिल्लीले मुम्बईलाई ठूलो लक्ष्य भने दिने छैन। मुम्बई भने दिल्लीलाई लगातार चार खेलमा पराजित गर्दै पाँचौं पटक उपाधि जित्न चाहन्छ।
पहिलो क्वालिफायर खेलमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा पुगेको थियो। दिल्ली पनि दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनलमा पुगेको टिम हो।
दिल्लीले मुम्बईविरुद्धको पहिलो खेलमा ५ विकेटको हार ब्यहोरको थियो भने दोस्रो खेलमा ९ विकेटले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।