काठमाडौं– जिम्बाब्वेविरुद्धको तीन खेलको टि–२० क्रिकेट सिरिज घरेलु टिम पाकिस्तानले क्लिन स्विप गरेको छ। मंगलबार भएको अन्तिम खेलमा पाकिस्तानले जिम्बाब्वेलाई आठ विकेटले पराजित गर्दै सिरिज ३–० ले जितेको हो।
रवलपिन्डीमा भएको अन्तिम खेलमा पाकिस्तानले जिम्बाब्वेलाई सहजरुपमा पराजित गरेको हो। १३० चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले १५.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। पाकिस्तानका लागि अब्दुल्लाह शफिकले अविजित ४१ र कुस्दिल शाहले अविजित ३६ रन बनाए। त्यस्तै, फखर जमानले २१ रन जोडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। जिम्बाब्वेका लागि कप्तान चामु चिभाभाले ३१ र डोनाल्ड तिरिपानोले २८ रन बनाए। बलिङतर्फ पाकिस्तानका उस्मान कदिरले चार ओभरमा १३ रन खर्चिएर चार विकेट लिए। त्यस्तै, इमाद वासिमको नाममा दुई विकेट रह्यो।
यसअघि पाकिस्तानले जिम्बाब्वेविरुद्ध पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा आठ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।