काठमाडौं– बंगलादेशका टेस्ट क्रिकेट टिमका कप्तान मोमिनुल हकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ। कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो। कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका छन् ।
एकदिनअघि मात्रै बंगलादेशका क्रिकेटर मोहमुदुल्लाहलाई कोरोना संक्रमण भएको थियो। कोरोना संक्रमण भएसँगै मुल्तान सुल्तान्सबाट खेल्ने मोहमुदुल्लाहले पाकिस्तान सुपर लिगको प्लेअफको कराची किंग्सविरुद्धको खेल गुमाएका थिए।
२९ वर्षीय टेस्ट कप्तान मोमिनुलले ४० टेस्ट क्रिकेट खेलबाट दुई हजार ८६० रन बनाएका छन्। जसमा ९ शतक र १३ अर्धशतक सामेल छ। त्यस्तै, उनले २८ एकदिवसीय खेलबाट ५५७ रन बनाउँदा तीन अर्धशतक बनाएका छन्। टि–२० अन्तर्राष्ट्रिय क्रिकेट भने ६ खेल मात्रै खेलेका छन्।
बंगलादेशकै अबु जायद, सैफ हसन र मश्राफे मोर्टजालाई पनि कोरोना संक्रमण भएको थियो। तर उनीहरु कोरोना मुक्त भइसकेका छन्। त्यस्तै, अघिल्लो महिना बंगलादेशका केही क्रिकेटर र कोचिङ स्टाफहरु यु–१९ क्रिकेट क्याम्पको समयमा कोरोना संक्रमण भएका थिए।
बंगलादेशमा अहिलेसम्म चार लाख २१ हजार ९२१ जनामा कोरोना संक्रमण देखिएको छ भने ६ हजारभन्दा बढिले कोरोनाको कारण ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।