बिबिसी- फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको बिबिसीले उल्लेख गरेको छ।
यस्तो अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका छन्। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ।
कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ। यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन्।
भ्याक्सिन पूर्णतः प्रयोगात्मक तरिकाबाट निर्माण गरिएको छ, जसमा भाइरसको आणुवंशिक कोडको हिस्सा समावेश गरिएको छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई दह्रो बनाउन मद्दत गर्छ।
यसभन्दा अघि गरिएका परीक्षणहरूले भ्याक्सिनले शरीरमा एन्टिबडी र टी-सेलको उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरेका थिए। यो भ्याक्सिन तीन हप्ताको फरकमा जम्मा दुई डोज दिनुपर्ने हुन्छ। अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोभिड-१९ विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दाबी छ।
साथै फाइजरका अनुसार यो वर्षको अन्तिमसम्ममा विश्वभर ५ करोड र सन् २०२१ को अन्तिमसम्ममा १.३ बिलियन डोज निर्यात गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।
(नोट: यसअघि यो समाचारमा भ्याक्सिन निर्माता कम्पनीको नाम फाइजर हुनुपर्नेमा अन्यथा पर्न गएकाले पाठकवर्गमा हुन पुगेको सन्देहप्रति क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।