काठमाडौँ- काठमाडौँ उपत्यकालगायत मुलकभर तीव्र गतिमा कोभिड-१९ को महामारीको प्रकोप बढिरहेको भन्दै न्यूनीकरणका लागि कोभिड-१९ विरुद्ध नागरिक अभियान सुरु भएको छ। जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उद्देश्यका साथ ललितपुरको लबिम मलबाट अभियान सुरु गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका उपप्रमुख श्रीमती गीता सत्यालले कोाभिडको महामारी न्यूनीकरणमा निजी क्षेत्र तथा नागरिक समाजको सक्रियताको उच्च सह्राना गरेकी थिइन्। सरकार आफ्नो जिम्मेवारी निर्वाहमा संवेदनशील रहेको र निजी क्षेत्र तथा नागरिक समाजको यो अभियानमा सहयोग र सहकार्यका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन्।
राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिहेको विषम परिस्थितिमा निजी क्षेत्र तथा नागरिक समाजले संगठित रुपमा महामारीको असर न्यूनीकरण र रोकथामका लागि अघि बढ्न आवश्यक रहेको महसुस गरी अभियानको प्रारम्भ गरिएको बताए। कोभिड-१९ दिर्घकालीन समस्याको रुपमा देखिँदै गरेकाले सुरक्षित मापदण्ड अपनाई अगाडि बढ्नुको विकल्प नरहेको बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले व्यवसाय तथा समाजलाई सुरक्षित रुपमा अगाडी बढाउन स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
राष्ट्रिय व्यवसायिक पहलको सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपाल लगायतका संस्थाहरुको समन्वयमा अभियान सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।